Friday, July 7, 2017

अमरको जन्मदिन

जन्मेदेखी हजारौँ पल्ट मरेको
अम्मरेले,
बर्षै पिच्छे हाँसी हाँसी जन्मदिन मनाँउछ।
जसरि उ निभेको छ आफैभित्र,
निभाउँछ केही थान क्यान्डिल।
जसरि काट्छ केक,
शायद उसैगरी रेटिन्छ होला उ पनि,
आफ्नाहरुलाई खुशी चखाउँदा।
बदलामा,
सफलताका भरपुर शुभकामना पाँउछ
तर अफसोस,
उसले फेर्ने प्रत्येक श्वाशमा असफलता गनाउँछ।
पटक्कै नसुहाएको हाँसो
मुखमा लिन्छ,
धन्यबाद दिन्छ!
अनी फेरी लम्किन्छ, जिन्दगी सँगको युद्धमा।

Monday, November 7, 2016

#NoNeutralizedCitizenshipInCabinet

पहाड मधेश लडाएर
आगो बाल्ने।
तातो रापले हिमालको
हिउँ पगाल्ने।
पहाड चिर्ने, तराईमा
बाढी हाल्ने,
अनी दशगजामा तिरङ्गा गाड्ने??

हामी मौन छौँ,
निदाएका छैनौँ।
हिमालि-पहाडी-मधेशि
नेपाली, एक हौँ
अनेक हैनौँ।
नफुट्ने, नझुक्ने
हामी दाजुभाइ

हाम्रो देश भाँड्न-टुक्र्याउन खोज्ने
नेतालाई
के अब यत्तिकै छाड्ने???

Sunday, July 17, 2016

म हिडेको बाटो!

म हिडेको बाटो
बाधाहरूको पर्याय भो
अप्ठ्यारोको खुट्किला टेक्दै,
सजिलोको सपना देख्दै,
हिड्ने मान्छे म
लड्नु र उठ्नु त अपरिहार्य हो
थाकेको पक्कै छु, 
हारेको छैन
अडिएको पक्कै छु,
रोकिएको छैन
किनकि यात्रा अझै सकिएको छैन

पर्खाल, छेक्न खोज्दैछन्
तरबार, रेट्न खोज्दैछन्
म एक्लो, हतियार बिचारको
बाटो प्रतिकारको 
खोज अधिकारको, 
बोकेर 
बाधा झेल्दै,
पिडा संग खेल्दै,
बिश्वाशले नियाल्दै,
लम्किदै छु, कैलै
नहिडेको बाटो!
#ImWithAamNepali 

Sunday, April 17, 2016

नयाँ बर्ष!

हरेक बिहान आउने नयाँ दिन 
बिर्सिन्छ मान्छे 
अनी बाँड्छ, खोक्रा ति शुभकामना 
नयाँ बर्षका 
हर्षका 
कुरा गर्छ, स्वर्गिय स्पर्शका। 
हरेक दिन त्यसको लागि खास हुँदैन 
जसलाई आफ्नै समय प्रती विश्वाश हुँदैन 
नयाँ दिनको नयाँ पनले पटक्कै छुँदैन 
त्यही मान्छे, जब कुरा गर्छ 
नयाँ बर्षको 
हतारिन्छ शु-कामना गर्न 
नयाँ बर्षको 
अनी हाँस्छु म, मज्जाले हाँस्छु 
सुनेर ति नमिठा जोक 
जस्ले पुरा बर्षलाई इग्नोर हानेर 
त्यैँ एक दिनलाई नयाँ बर्ष मानेर 
बाँकी ३६४ दिनलाई 
पुरानो सम्झिन्छ।

रेडियो नेपाल झैँ 
दिनभर 
न्यू एअर-न्यू एअर 
भन्दै करायो 
अर्को दिन त्यैँ पुरानो पारा 
पुरानै नारा बोकेर 
संसार सारा 
फेरी अर्को न्यू एअर कुरेर बस्छ। 
त्यतिन्जेल, फेर्छ त त्यैँ एउटा पात्रो 
फेर्ला २-४ जोर कपडा 
जोड्ला घर-घडेरी 
तर त्यो सुक्खा दिमागमा सधैं खडेरी!

सोच पुरानो, व्यबहार पुरानो 
पुरानो सब लोक पुरानो 
सब थोक पुरानो। 
ए मान्छे, 
खै बुझेको? 
मात्रै बिचार फेर्न सके, सब थोक नयाँ छ। 
तिमीले फेर्ने श्वास नयाँ छ 
हर दिन- हर क्षण नयाँ छ 
महिनाभर गनाउने पसिना नयाँ छ 
अनी हरेक महिना आउने हात्ती(पैसा) 
हात्तीले बोक्ने सब चिज नयाँ छ 
चियाको हरेक चुस्की 
चुरोट्को फु~~~ 
सबै 
सबै नयाँ।

Friday, March 11, 2016

शब्द!

शब्द,
एउटा यस्तो हतियार,
न कुनै धार, न बिशेष आकार।
तर पनि संसार हल्लाउन सक्ने,
खल्बलाउन सक्ने
मिलाउन सक्ने
बिगार्न सक्ने
भत्काउन सक्ने
बनाउन सक्ने
ओहो! कती गुण,
कती बैगुण
शब्दको
कती महत्व, अर्थको
र अर्थले दिने तर्कको।

शब्द,
जसको सार
अपरम्पार छ।
हरेक कुराको आधार,
यहाँ शब्दले नै संसार चला'को छ।
सरकार चला'को छ
परिवार,
ब्यापार,
ब्यभार, सब चला'को छ।
यहीँ शब्द,
कुनै ठाउँमा प्यार हुने
कुनै ठाउँमा चैँ
प्यारप्यार हुने।
अचम्मको!

शब्दका धनी,
राजा बनी, राज गर्छन्
बैचारिक सिंहासनमा।
शब्दका भिखारी,
कच्चा शब्द तिखारी
होमिन्छन बिचारको युद्धमा।
विवेकको बन्दुक,
तर्कको तोप
जब तेर्सिन्छन्,
नफर्की पछाडि, जङ्ग हारी
फर्किन्छन,
सिंहासनको सपना
शहिद बनाएर।
बिचारका बिचराहरु!!

Sunday, March 6, 2016

मायाँ!

मायाँ,
मस्त झुम्दै एक अर्कामा भुलेका प्रेमजोडी देखी
खेतमा झुलेका धानवाला सम्म।
म देख्छु मायाँ,
हरियो राहदानीमा
उजाड राजधानिमा
जहाँ हरेक दिन भोक-शोक
आफु र आफ्नाको मायाँले भौतारिन्छन मान्छे।
भरियाको भारिमा
किसानको खेत-बारिमा
पनि मायाँ छ।
डक्टरलाई रोगको
रोगिलाई डक्टरको
मायाँ त झन् कती हो कती।
बिहान पाक्ने भात, साँझ खाने कुचो
स्वास्निको किचकिच
र लोग्नेको झर्काइमा पनि मायाँ छ।

बिहान बिहानै चियाको कप सँगको चुम्बन
पत्रीका सँगको समिप्यता
खोक्रो राष्ट्रबाद, गफगाफ
झोले प्रश्न-जबाफ
रबाफ
सबैमा मायाँ छ।
पहाडमा गुराँस फुल्नु
तराइमा गुल्मोहर फुल्नु
हिमालमा हिउँ पर्नु
कर्णाली कलकल बग्नु

बागमती फोहोर हुनु
यसमा नि मायाँ छ। ;)

बुढो प्रजातन्त्र, फागुन ७ र हामी नेपाली।

बुढो प्रजातन्त्र, फागुन ७ र हामी नेपाली।
२००७ साल तिर जन्मेको
एउटा तन्त्र,
प्रजातन्त्र जो आफ्नो बुढेस्काल
दु:खले काट्दैछ
लाग्छ मृत्‍यु कुरिरहेछ चुपचाप।
बर्षै पिच्छे जन्मोत्सब मनाइदिनु,
फागुन ७ मा
जन्मदाताहरु सम्झिनु बाहेक
कुनै अर्को कर्तब्य पुरा गरेनौँ हामी।
न सम्मान, न सत्कार, न राम्रो व्यबहार उ प्रती
बुढेशकालको दिर्घ रोगी,
बिचरा प्रजातन्त्रलाई
तातो पानी सम्म पनि कैले सोधेनौँ हामी।
हामी नेपाली
गर्व त सधैं गर्‍यौँ नेपाली हुनुमा,
तर नेपाली भएर बाँच्नुलाई भगवानको स्राप सम्झेउँ, दुर्भाग्य सम्झियौँ।
हरेक बर्ष प्रजातन्त्र, लोकतन्त्र मनाइरहँदा
दार्चुलामा भोकतन्त्र
जाजरकोटमा शोकतन्त्र
काठमाडौंमा जोकतन्त्र
हेरेर बस्नु मात्र सक्यौँ।
हामी नेपाली
फगत, प्रजातन्त्र मनाउँछौँ,
मनन गर्दैनौँ। :(